बिपिन रिहाईका बिषयमा टर्कीका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको टेलिफोन सम्बाद


प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेसेप तय्यिप इर्दोगानलाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह गरेका छन् ।

आज अपराह्न प्रधानमन्त्री ओलीले उनलाई टेलिफोन गरेर त्यस्तो अनुरोध गरेका हुन् । जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरेको प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नै सामाजिक सञ्जाल फेसबुक मार्फत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।

टेलिफोन वार्ताका क्रममा आगामी अप्रिलमा टर्कीमा हुने कूटनीति सम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेसेपले स्मरण समेत गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बार्ताका क्रममा उनिहरुबिच आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै पारस्परिक सम्बन्ध विस्तारबारे पनि विचारविमर्श भएको थियो ।