थामेका बाढी पिडितलाई फ्रान्सेली अनुदान

साझा प्रेस
1.6k
Shares
File Photo

सोलुखुम्बुको थामेका बाढी पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट अनुदान रकम प्राप्त भएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत साउन ३२ गतेको हिम पहिरोका कारण क्षति भएको बस्तीमा अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट अनुदान रकम प्राप्त भएको हो ।

५० घर परिवारलाई अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट २९ लाख २१ हजार दुई सय ६२ रुपैंया अनुदान रकम प्राप्त भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए ।

फ्रान्सेली राजदूतावासबाट प्राप्त २९ लाख २१ हजार दुई सय ६२ रुपैंया मध्ये पहिलो किस्ता बापतको १२ लाख २५ हजार रुपैंया अनुदान रकम चैत्र ३ गते आइतबार खुम्बु पासाङल्हामु गाउँपालिकाको खातामा पठाइसकिएको प्रजिअ घिमिरेले बताए । उनका अनुसार ५० घरधुरीलाई २५ हजार रुपैंयाको दरले अनुदान रकम गाउँपालिकाको खातामा पठाइएको हो ।

पहिला किस्ता बापतको रकम गाउँपालिकाको खातामा आएको र अब तत्कालै पीडितलाई हस्तान्तरण गर्ने गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए । हिम पहिरो पश्चात् तत्कालै जिल्ला प्रशासन कार्यालयबाट १३ घर परिवारलाई १५ हजार रुपैंयाको दरले राहत रकम प्रदान गरिएको थियो । यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकाले १८ घर परिवारलाई ५० हजार दरले र ४५ घर परिवारलाई १० हजार रुपैंयाको दरले प्रदान गरेको थियो ।

यता गृह मन्त्रालयबाट पिडितका लागि तत्कालै ५० थान त्रिपाल र ३० थान टेन्ट उपलब्ध गराएको प्रजिअ घिमिरेको भनाइ छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश विराटनगरले ५० थान फाइबर सिरक, ५० थान फाइबर सिरानी, ५० थान म्याट्रेस र ५० थान तन्ना वितरण गरेको थियो ।

छिमेकी नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले पुर्ण क्षति भएका २३ घरधुरीलाई ५५ हजार रुपैंयाका तथा आंशिक क्षति भएका १८ घर परिवारलाई ३५ हजारको दरले र अन्य १६ घर परिवारलाई १५ हजारको दरले रकम प्रदान गरेको थियो ।

बाढीका कारण पूर्णरूपमा क्षति भएको थामे आधारभूत विद्यालय पुनः निर्माणका लागि फागुन ३० गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरी पुनः निर्माणका लागि सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगरमा सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गत साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिम पहिरोका कारण ५४ घर क्षति भएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो । जसमा ४ घर थामेमा विभिन्न पेसा व्यवसाय गरी अस्थायी रूपमा बसोवास गर्ने रहेको जनाइएको छ ।

बाढीका कारण थामे आधारभूत विद्यालय, थामे आधारभूत विद्यालयको होस्टेल, थामे स्वास्थ्य चौकी, खुम्बु बिजुली कम्पनीको विद्युत सबस्टेसन र इन्टेकमा पूर्ण रूपमा क्षति भएको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए ।

पूर्णरूपमा विस्थापित भएकाहरू हाल आफन्तको घरमा आश्रय लिएर बसिरहेको गाउँपालिकाले जनाएको छ । उहाँका अनुसार थामे आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरू खुम्जुङ माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् ।