संविधानले नै कल्पना नगरेको राजतन्त्र आउने कुरा मिथ्या होः महासचिव पोखरेल

साझा प्रेस
350
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा संवैधानिक रूपमा नै राजतन्त्र हटेको बताएका छन् ।

संविधानले नै हटाएको राजतन्त्र पुनस्र्थापनाको कुनै सम्भावना नरहेको पोखरेलले स्पष्ट पारेका हुन् । अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकले नेपालमा हिन्दु राजाको आवश्यकता बारे चर्चा गरिरहेका प्रति लक्षित गर्दै उनले भारतमा पनि कुनै बेला राजा रजौटाहरू रहेका उल्लेख गरे । उनीहरूको चिन्ता उनीहरूले भन्ने गरे जस्तै हो भने भारतमा नै हिन्दु धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनस्र्थापित गरेर देखाउन पोखरेलले चुनौती दिए ।

जसरी भारतको संविधान अनुसार भारतमा राजा महाराजालाई पुनस्र्थापित गराउन मिल्दैन, त्यसै गरी नेपालको संविधान अनुसार पनि राजालाई पुनस्र्थापित गर्न नमिल्ने कुरा बुझ्नु पर्ने पोखरेलको धारणा छ ।

उनले आफ्नो फेसबुक पेज मार्फत भनेका छन्, ‘अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरू नेपालमा हिन्दुराजको आवश्यकताको चर्चा गरिरहेका छन्, विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरू अस्तित्वमा रहेको बताउँदै हिन्दुहरूको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन्, नेपालको पूर्व राजालाई त्यो सम्मान दिनु उचित हुने बताई रहेका छन्, उनीहरूको चिन्ता उनीहरूले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनस्र्थापित गर्दा भयो नि, तर त्यो सम्भव छैन, किनकि भारतीय संविधानले त्यसो गर्न दिँदैन, नेपालको हकमा पनि त्यस्तै त हो नि, होइन र ?’

ब्रिटिसहरूले भारतमा उपनिवेश चलाइरहँदा ५ सय ५० भन्दा बढी रियासतहरुलाई आफ्नो अधीनमा राखेका स्मरण गराउँदै पोखरेलले तिनीहरूमा अधिकांशमा राजा, नवाब र महाराजाहरू रहेको समेत उल्लेख गरेका छन् ।