एक सय सदस्यिय चिनियाँ फोटोग्राफरको टोली नेपाल आईपुगेको छ । उनिहरु चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ कार्यक्रम अन्तर्गत नेपाल आएका हुन् ।
नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कुटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका अवसरमा सो कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रम नेपालको पर्यटन प्रवद्र्धनका लागि एक महत्वपूर्ण अवसर हुने फोरमका संयोजक डा. कल्याणराज शर्माले जानकारी दिए ।
चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक स्थलको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवद्र्धन गर्नेछन् । उनीहरूले फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रङ्गमय नेपालको फोटो खिच्ने राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली तथा परम्परागत सम्पदालाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने छन् । नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्याउन यस्ता कार्यक्रमले विशेष योगदान पुर्याउने विश्वास लिएको छ ।
प्रतिक्रिया