सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-७ मा नवनिर्मित बोगल तामाङ सेवा समाजको भवन उद्घाटन गरिएको छ ।
स्थानीय सरकारको सहयोगमा निर्माण भएको उक्त भवनको गाउँपालिका अध्यक्ष असिम राईले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । समाजका अध्यक्ष आसमान तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भवन निर्माणका लागि करीब ११ लाख खर्च भएको आयव्याय सार्वजनिक समेत गरिएको छ ।
स्थानीय सरकारले नागरिकको सामन्य तर महत्वपूर्ण समस्या समाधान देखी गौरवको योजना समेत संचालन गरेर इतिहास कायम गरेको भन्दै स्थानीयबासीले धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले वडा भित्रको सबै जातजाति, भाषाभाषी तथा भूगोल समेट्ने गरि विकासको खाका बनाएर काम गरिरहेको र त्यसमा स्थानीय नागरिकको सहयोग उत्तिकै प्राप्त भएको प्रति धन्यवाद दिए । उनले आफ्नो कार्यकालमा अघिल्लो कार्यकालमा सुरु भएको तर पूरा नभएको योजना पूरा गर्दै नयाँ कार्यक्रम समेत जारी राखेको जानकारी गराए । वर्थिङ सेन्टर स्थापना देखि विद्यालय भवन निर्माण, सडक सोलिङ देखि आवश्यकताका आधारमा नयाँ ट्र्याक खोल्ने सम्मको कार्य गरिरहेको भन्दै वडा अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा एकघर एक धारा अभियान पूरा गर्ने प्रतिवद्वता व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकलाई केन्द्रमा राखेर विकास निर्माणको कार्य गरिरहेको भन्दै नागरिकले त्यसमा सहयोग गरिरहेको बताए। नेले-मुक्ली र नेले काङ्गेल सडक कालोपत्रेको कार्य सुरु भएको भन्दै अध्यक्ष राईले नेले-बोगल- बुढिडाडा सडक कालोपत्रको काम पनि तत्काल सुरु हुने जनाए । स्थानीयले राखेको जायज माग पूरा गर्ने भन्दै अध्यक्ष राईले नागरिकको सहभागीता बिनाको बिकास अधुरो र अपुरो हुने भएकाले थुलुङ दुधकोशी सरकार यसमा सचेत रहेको बताए।
कार्यक्रमको अवसरमा जग्गादाता तथा सहयोग गर्ने सबैलाई सम्मान-पत्र सहित सम्मान गरिएको छ ।

प्रतिक्रिया