महाशिवरात्रिमा कसले कति सो पाए

साझा प्रेस
700
Shares

महाशिवरात्रिको अवसर पारेर भोलिबाट प्रदर्शनमा आउन लागेका तीन फिल्म ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’लाई देशभरका मल्टीप्लेक्सहरुले शो उपलब्ध गराउँदै अग्रिम बुकिङ खुलाएका छन् । तीन फिल्ममध्ये शो संख्यामा ‘लाज शरणम्’ केही अगाडि देखिएको छ । यसले देशभर डेढ सय हाराहारी शो प्राप्त गरेको छ । र, फिल्मको बुकिङ पनि उत्साहप्रद देखिएको छ ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका आउटलेटमा गरी फिल्मलाई ६५ शो बाँडेको छ । त्यस्तै, आईएनआईले चार आउटलेटमा १५, वान् सिनेमाजले दुई आउटलेटमा १०, बिग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, विएसआरले ४ शो दिएका छन् । मोफसलका मल्टीप्लेक्सहरुमा पनि फिल्मलाई राम्रो शो उपलब्ध छ ।

क्यूएफएक्स चेनमा ‘लाज शरणम्’पछि ‘फेरि रेशम फिलिली’ले बढी शो पाएको छ । यो चेनमा फिल्मलाई कुल ५१ शो छ । अन्य मल्टीप्लेक्सहरुले बाँडेको शो समेत जोड्दा सय हाराहारी पुग्छ । अन्य दुई फिल्म पनि रिलिज भइरहेको सन्दर्भमा यो शो संख्या उत्साहजनक हो । यसका लागि फिल्मको ट्रेलर र ‘फेरि जालमा’ गीतको लोकप्रियताले ठूलो भूमिका खेलेको देखिन्छ ।

त्यस्तै, ‘मायावी’लाई देशभर ९२ शो मिलेको वितरकले जनाएका छन् । यसलाई क्यूएफएक्स चेनले देशभरका आउटलेटमा गरी ४२ शो दिएको छ । यो साता कुनै विदेशी फिल्म नभएकाले पनि महाशिवरात्रिका तीन फिल्मलाई मल्टीप्लेक्सहरुले पर्याप्त शो बाँडेको देखिन्छ । अब उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती तीनवटै फिल्मलाई छ ।

फरक-फरक कथावस्तुमा निर्माण भएका ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ले मंसिर महिनायता सुस्ताएको फिल्मको व्यापारलाई चलायमान बनाउने ठूलो अपेक्षा गरिएको छ । ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ कमेडी जनराका हुन् । ‘मायावी’ भने पूर्ण लभस्टोरी फिल्म हो । यसैले दर्शकलाई आफ्नो रुचि र इच्छा अनुसारको फिल्म हलमा रोजीछानी हेर्न पाउने सुविधा छ ।