तनँहुमा स्वाईन फिभरले बँगुर मर्न थाले, ओसार पसारमा रोक

साझा प्रेस
150
Shares

तनँहुमा अफ्रिकन स्वाइन फिभर रोगबाट बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । त्यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो ।

तनँहु जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा २, व्यासमा १ र ऋषिङमा १ बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिए । बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा सुँगुर ओसार–पसारमा प्रतिबन्ध लगाइएको उनले जानकारी दिए ।

जिल्लामा १३ हजार ५०० किसानले ४० हजार बङ्गुर पालेका पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट तथा सङ्क्रमित सुईबाट सर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ ।

उक्त रोगविरुद्ध हालसम्म कुनै ‘भ्याक्सिन’ नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट तथा कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बङ्गुर बिरामी पर्ने र मर्ने जस्ता लक्षण देखिने गरेको छ ।