बैदेशिक रोजगारीका पिडितको उद्धारमा बागलुङ आप्रवासी स्रोत केन्द्र

साझा प्रेस
0
Shares

आप्रवासी स्रोत केन्द्र बागलुङले वैदेशिक रोजगारमा गएर समस्यामा परेका सात जनाको उद्धार गरेको छ ।

चालु आर्थिक वर्षको सात महिनामा ११ को उद्धारका लागि उजुरी परेकामा हालसम्म सात जनाको उद्धार भएको हो । साउदी, दुबई, कतार, कुवेतलगायत खाडी मुलकमा पुगेर समस्यामा परेकाहरूको उद्धार गरिएको आप्रवासी स्रोत केन्द्र बागलुङकी सूचना अधिकारी तथा परामर्शकर्ता गङ्गा शर्मा रिजालले जानकारी दिइन् ।

वैदेशिक रोजगारमा गएका कामदारले समयमा तलब नपाउने, बिदामा नेपाल फर्किन नपाउने लगायत समस्यालाई विभिन्न निकायसँग सहकार्य गरी उद्धार गरिएको उनको भनाइ छ । रिजालका अनुसार ठगी, मृत्युलगायत ९० उजुरी परेकामा हालसम्म ४१ वटा समाधान भइसकेका छन् । ठगीको उजुरी ५४ जनाले दिएकामा हालसम्म १७ वटा समाधान भइसकेका छन् । वैदेशिक रोजगारका लागि प्रलोभनमा पारेर लाखौँ रकम ठगी गरेकामा हालसम्म स्रोत केन्द्रले रु ४३ लाख पाँच हजार पाँच सय ठगिएको रकम फिर्ता गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गैरकानुनी रूपमा विदेश जानेहरू बढी समस्यामा परेका बताए । जिल्ला प्रशासन कार्यालयले राहदानी लिन आउने हरेक नागरिकलाई रोजगारी तथा अध्ययनका लागि विदेश जाँदा बढी सचेत हुन आग्रह गर्दै आएको उनको भनाइ छ ।