किन रातभरि सुतेपनि बिहान थकान र निद्रा लाग्छ ?

साझा प्रेस
1.6k
Shares
File photo

कहिलेकाही पूरा रात सुते पनि निद्रा नपुगे जस्तो महशुष हुन्छ । त्यसैले,  बिहान उठ्न मन नलाग्ने र दिनभरि पुरै शरिरनै आलस्य हुन्छ ।

अध्ययनका अनुसार यी सबै हुनुमा शरीरमा भिटामिनको कमी पनि हुन सक्ने बताईएको छ । यसको कारणले दिनभरि आलस्य र थकान महसुस हुने हुन्छ । भिटामिन र मिनरल्सको असन्तुलनले पूरै शरीरमा असर पर्छ । यस्ता धेरै भिटामिन छन् जसको कमीले निद्रा बढी आउँछ ।

त्यसैले, आउनुहोस् जानौँ कुन भिटामिनको कमीले निद्राको समस्या निम्त्याउँछ ।

भिटामिन डी

जब हाम्रो शरीरमा भिटामिन डी कम हुन थाल्छ, यसले निद्राको समस्या निम्त्याउँछ । भिटामिन डीको कमीले दिनभरि थकान, कमजोरी र बढी निद्रा आउने समस्या हुन सक्छ ।

भिटामिन डी कम हुँदा शरीरमा क्याल्सियम–फस्फोरसको कमी पनि बढ्छ । यसको कारणले हड्डीमा दुखाइ हुन्छ । प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ र दिनभरि आलस्य महसुस हुन्छ । सधैँ निद्रा आइरहन्छ । त्यसैले शरीरमा भिटामिन डीको कमी हुन नदिनुहोस् ।

भिटामिन बी १२

भिटामिन बी १२ को कमी पनि अत्यधिक निद्रा आउनुको एउटा ठूलो कारण हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

भिटामिन बी १२ कम हुँदा न्युरोलोजिकल र मानसिक समस्याहरूको जोखिम बढ्छ । अनुसन्धानमा पाइएको छ कि शरीरमा भिटामिन बी १२ को कमीले बढी मात्रामा अल्छी महसुस हुन्छ।

त्यसैले भिटामिन बी १२ युक्त आहार लिन चिकित्सकहरु सल्लाह दिन्छन्। विशेषगरी शाकाहारी मानिसमा भिटामिन बी १२ कम हुन्छ । उमेर बढ्दै जाँदा भिटामिन बी–१२ को कमी पनि बढ्दै जान्छ ।

बढी निद्रा आउनुका अन्य कारणहरु

केवल भिटामिन डी र बी १२ मात्र होइन, अन्य धेरै पोषक तत्त्वहरूले निद्राको प्रक्रियालाई प्रभावित पार्छन् । यसमा म्याग्नेसियम, पोटासियम र आइरन जस्ता खनिज समावेश छन् । यिनीहरूको कमीले शरीरमा आलस्य, थकान र कमजोरी आउँछ ।

यसको कारणले दिनभरि निद्रा आइरहन्छ । सुतेपछि पनि शरीरमा अनिद्रा महसुस हुन्छ ।

यदि तपाईंलाई लामो समयसम्म यस्तो महसुस भइरहेको छ भने तपाईंले चिकित्सकहरुको सल्लाह अवश्य लिनुपर्दछ ।