“कविता आफैमा एउटा हतियार हो।“ मिलन प्रधान(भारत)
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा जन्मिनुभएको कवि डिइबी सिकारु उर्फ दुर्गा ब.खडका साहित्यको नक्षत्रमा एउटा नयाँ नाम हुन । भर्खरै मात्रै उनको यौवन हराएको मान्छे शीर्षकको कविता संग्रह पठन सकाएँ । यस सँग्रहमा लामा छोटा गरि जम्मा ४५ वटा कविताहरु रहेका छन् । साहित्यपोष्टले प्रकाशन गरेको यस कृति सय पृष्ठ मोटो कवितामा कविको सिकारु उपनामधारी भए पनि कविता निकै निखारिएका छन् । केही वर्ष यता कवि विविध कामको सिलसिलामा परदेशमा हुनुहुन्छ । परदेशी जीवनबाट पनि यति बोधगम्य, सुललित, विम्ब, प्रतीकका साथ कविता तथा साहित्य सिर्जना गर्न सकिन्छ भन्ने प्रमाण पनि हो “यौवन हराएको मान्छे । ”
झ्वाट्ट सुन्दा उमेर गईसकेको वृद्धावस्था मानवको काल्पनिकता प्रदान गर्छ संग्रहले तर त्यसो नभएर बाध्यात्मक परिस्थितिले आफ्ना सारा सपनाहरुलाई पुरा गर्न नसकिएको नेपाली नीति, युवाहरुको विवशता, अस्थिर सरकारको कारण परदेशमा आफ्नो जोश, जागर र उमेरलाई खर्च गर्दा गर्दा यौवन अर्थात उमेर ढल्किसकेको कुरालाई बिम्बका रुपमा उभ्याईएको छ । तसर्थ कवितामा घरपरिवार, अभिभावकको जिम्मेवारी, आफ्ना बालापन, युवा उमेर, गाउँको सम्झना, आफ्ना प्रियसी तथा प्रियसीको कल्पनामा बाँच्नु पर्ने कुरालाई परिवार भित्रको बा को काँधबारे यसो भन्नुहुन्छ कवि ।
“जब बा! आउनु भो मेरो सामु
तब टरि गए सबैसबै प्रलयहरु ! पृ १०”
युवा उमेर त्यसै पनि कल्कलाउदो र बर्बराउदो उमेर दिवास्वप्ना देख्ने उमेर हो । त्यसैले होला सायद कतै मिठो प्रेमका कल्पना मनोवादमा यसरी आफ्नो प्रियसीको पर्खाई, कल्पना र सम्झनामा उनीको कल्पना पनि गर्छन् ।
“हावाले ढोका हल्लाउदा
पर्दाहरु नचाउँदा
कुनै चराको चिर्बिरमा
या गोधुली साँझमा
माटो, बाटो छुँदा
कसैको आवाज सुन्दा
म उहीँ आएझै मान्छु । पृ १३ ”
नेपालका भ्रष्ट नीतिले हरेक रातोदिन नेपाली जनताको थाप्लोमा ऋणको भारी छ । त्यसै पनि रेमिट्यान्सले चलिरहेको नेपाल आज प्रत्येक बालकहरु जन्मिदा नै ९० हजार देशको ऋण लिएर जन्मिन्छन् । त्यसप्रति नेपाली जनताहरु आजैबाट जाग्न जरुरी छ जब कि देशको लागि राम्रो काम गर्ने नेतालाई मात्र छान्नुपर्छ भनेर पूर्व जानकारी दिन्छ ।
“कुनै पनि बेला
खस्न सक्छ
वैदेशिक ऋणको पोको
तपाईँको थालमा
होसियार ! पृ ३८”
परदेशी जीवन बिताउदा बिताउदै आफ्ना सपना ,बिपना,घर ,परिवार, आफन्त, साथीभाइ छुटे, गाउँ छुटे ती छुटेका सबैसबै कसरी र को सँग फिर्ता माग्ने ? यदि नेपालको नीति, शासन, व्यवस्था नै कम्जोर र लाचार भए पछि बिरक्तिएर घरी हरेश खान्छ एक मनले । तर मनभित्र थोरै आशा बोकेकै छ । र पनि कवि मन यसरी निरास हुन्छ ।
“को सँग फिर्ता माग्ने हो ?आफ्नो यौवन
बगिगएको समयसँग ?
फेरिरहने सरकारसँग ?
कि
सरकारको नीतिसँग ? पृ४२”
पृथ्वीमा सबै सबै उत्पति भएको फेरि पृथ्वी अर्थात माटोमै मिल्नको लागि हो । एक मनले भन्छ किन दुःख गर्ने आखिर माटोमै मिसिने हो हरेक माटोको उपज माटोमै जाने हो भने लोभ लालच किन ? जीवनमा जे हुन्छ त्यो प्रकृतिको नियम पूरा गर्नलाई हो भनेर चित्त पनि बुझाउँछ कवि ।
“म केही हुँ भने
म हावा,पानी,माटोको कहानी हुँ
म समग्रमा प्रकृतिको नासो हुँ । पृ ५४”
सानो छँदाको जिन्दगी र अचेल विवशताले परदेशीनुको पीडाले छटपटिदा गाउँका प्यारा आफ्ना बालापनलाई सम्झिन पुग्छ ।
“क्या लक्जरियस थियो यार बालापन !
धरहराजस्तो तलैतलाको बिल्डिङ
आकाश जस्तै फराकिलो आँगन । ५५”
परदेशबाट आफ्नो देशसँगै गाउँका डाँडापाखा सम्झिन्छन कवि । जहाँ गाउँमा सुन्दर हिमाल मुसुक्क मुस्कुराईरहेको हुन्छ । तर अरुको देशमा त्यसरी न हिमाल छ न पहाड,न पहरा छ,न छहरा सिर्फ ८० डिग्री तातो गर्मी ,त्यसै पनि मेसिनको शहरमा न केही छ आफन्त । यसवीचमा गाउँले यसरी बोलाईरहन्छ ।
“आमादब्लमको ठीक काखैमा
झुल्किरहन्छ एक सुन्दर गाउँ
यहाँ कुनै निराशाको फूल फुल्दैन
खुशी फल्न यहाँ
कुनै ऋतु आउनु पर्दैन । पृ६०”
हिजोका दिनहरुमा केवल कुनै ,कसैको उपनिवेशमा नपरेको स्वतन्त्र नेपालको ईतिहासले आज हामीलाई गिज्याईरहेछ । तै पनि हामी जहाँ जसरी रहे पनि नेपाल जस्तो रमणीय, सुन्दर कही नभएको नेपालको बयान गरि साध्य छैन र आफू नेपाली हुनुमा गर्व गर्छन् कवि ।
“…नेपाल यथार्थ हो,
नेपाली लेख्छु मत
नेपाल लेख्छु मत
नेपालै नेपाल देख्छु मत
जेजे लेख्छु सत्य लेख्छु । ६३”
मेसिनको शहरमा बाँच्दै थोरै घरको छानो फेरियो, परिवारलाई दुई छाक मानो पेट भरेको छ र पनि देश फर्किनलाई सम्भावनाहरु छैन । अर्काे महिना देश,गाउँ फर्किन्छु भन्दाभन्दै सपनाहरु र रहरहरु अधुरामै छोडेर एक दिन रातो बाकसमा पो फर्किनु पर्छ कि थोरै आशंका र निरासाले मनमनै गाँजेको छ कवि मन।प्रतिकात्मक रुपमा जरालाई उभाएको छ यहाँ । जो जरा घरको खम्बा पनि हुन सक्छ । परिवारमध्येको अभिभावक पनि हुन सक्छ । कतै ती जरा सकुसल देश फर्किन्छन कि भनेर चिन्ता समेत छ कवि मनमा ।
“जोडिसक्यो छानो
जोडिसक्यो मानो
जरा कहिले फर्किने?
कि रातो बाकस पर्खिने? पृ ७६”
देशमा सध्ये विचार भएका नागरिकहरु बाहिरिएसँगै नेपालीपन सबै हराएको प्रति चिन्ता लाग्छ । हरेक समय अँग्रेजीमय भाषा, भेष, पशिचिमेली संस्कृति भित्रिएर खुद नेपालीपन हराएको प्रति सजग गराउन सन्देश दिन्छ । खेती गर्नेहरुको श्रमले उचित मूल्य नपाए पछि फाल्नुपर्ने कुरा टर्कारो दिन्छ । श्रम अरुले गर्छ पसिनाको कदर अरुले नै पाउने देश उद्योगधन्दा गर्नेहरुले देश ठगिरहेछ । आजभोली निर्यात छैन आयात बढेको छ यसले देशलाई कंगाल बनाएकोप्रति शोक र चिन्ता व्यक्त गर्छन् ।
“भाषा,भेष,पेशा लाग्छ अर्कै बेस
दिनदिनै उडछ रुन्चे हाम्रो देश..।
खेती गर्ने हिरो,फल खाने किरो
हजारौको कारोबार हातमा जिरैजिरो
निर्यातलाई बलि आयातलाई ढलिमली
ढाडिदैछन् किर्ना कर छलिछली । पृ ८३”
देशको राम्रो जनशक्तिजति विदेशमा छन् पसिना बेचन बाध्य छन् नेपाली युवाहरु । कतै अब विदेशिएको युवाहरुलाई फर्काउन देशमा कोही जन्मेको छ बा त उनीहरुले युवास्वप्नालाई साकार पार्छन कि यदि त्यसो हो भने युवाहरुले नै उनीहरुको पनि संरक्षण गर्न जरुरी छ भन्छन कवि । देशमा केही गर्नेहरु जन्मिन्छन भने त्यसलाई गोडमेल गर्नुपर्छ । हर्क साम्पाङ, बालेन्द्र शाह, गोपी हमाल जस्तालाई सुरक्षा गर्नुपर्छ यदि उहाँहरुलाई संरक्षण गर्न नसके देशमा हाहाकार मच्चिन्छ भनेर युवाहरुलाई, नेपाली जनतालाई सचेत पनि गराउछन् ।
“यसरी सबैसबै किनिने र बेचिने हो भने
देशमा हर्क,बालेन,अरु नजन्मिने हो भने
गोपीहरुलाई गोडमेल नगर्ने हो भने
देश एक दिन
बर्डफ्लु लागेको कुखुरा फर्म हुनेछ।पृ ९३”
नेपाली त्यसै पनि इमान्दार हुन्छन् । कामप्रतिको बफादारी हुन्छ । समय सापेक्ष कामप्रति झुक्न पनि पछि नहट्ने तर कोही कसैले आफ्नो देश र सीमाप्रति हमला गरे कोही कसैसामु नझुक्ने नेपालीपन अझै बनाउँछ मनमनमा । कहिल्यै झुक्न नजान्ने नेपाली आज देशको सञ्चालकले अरुसामु दास बनाएर झुकाएको छ भनी मनमनमा पीर बोकेर हिँडनु पर्ने बाध्यता व्यक्त गर्छन् कवि ।
“निहुराएर लुरुक्क मुन्टा
९० डिग्रीमा आन्न्यङहासेयोको शिरमा पोखाउँछु
(परदेशमा मालिकसामु)
ठिक त्यही बेला मनमनमा गुञ्जिन्छ
“म झुक्दै नझुक्ने नेपालको छोरो । “पृ ९५”
भनिन्छ रवि नपुग्ने ठाउँमा कवि पुग्छ । यहाँ कवि सिकारु हरेक कुनाकन्दरा पुगेको छ । यहाँ कविले आफूलाई कतै प्रेमीका रुपमा उभाएको छ कतै देश भक्तिका रुपमा उभेको छ, कतै प्रकृतिसँग रमेको छ यसर्थ कविको कवित्व प्रगतिवादी, समाजसुधारवादी, प्रकृतिपेमी, देश भक्ति र उद्धारवादी चिन्तकका रुपमा चिन्न सकिन्छ । यद्यपि कवि प्रगतिवादी,प्रकृति प्रमी र मानवतावादी विशेषता बोकेर जन्मिनु भएको छ । आगामी कलमी यात्रा सफल बन्दै जाओस शुभकामना।
।।इतिश्री।।
प्रतिक्रिया