कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी हिउँदे अधिवेशनमा पर्याप्त विधेयक आउने बताएका छन् । केही वर्षदेखि प्रदेश सभामा विधेयकहरु नआइरहेको गुनासो आइरहेको बेला मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माणसम्बन्धि अध्ययन कार्यदलले बनाएको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वय गर्न प्रदेश सरकारले थप कानुनहरु बनाउने, कानुनको प्रभावकारी कार्यान्वयनको लागि संसोधन गर्नेतर्फ केन्द्रीत हुने जनाएका हुन् ।
मुख्यमन्त्री कार्कीले संघीयता नयाँ संरचना रहेको हुँदा केन्द्र र प्रदेशबीच अधिकारहरु बाँडफाड समेत नभइसकेको सन्दर्भमा कार्यदलले दिएको प्रतिवदेन मार्गदर्शक हुने बताए । कार्यदलले प्रतिवेदनमा प्रदेश सरकारले बनाउनु पर्ने नयाँ कानुन, संसोधन गर्नु पर्ने र संघीय सरकारले अधिकार हस्तान्तरणका लागि बनाउनु पर्ने कानुनहरुका विषय समेटेको छ ।
पछिल्लो पटक मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले कानुन निर्माण र संसोधनको विषयलाई प्राथमिकतामा राख्दै पहिलो निर्णय नै कार्यदल गठन गर्ने गरेका थिए । कोशी प्रदेश सरकारले गएको बैशाख २७ गते प्रदेश सरकारले निर्माण गरेको कानुनको प्रभावकारी कार्यान्वयन भए नभएको, संघीयता सफल कार्यान्वयनको लागि कोशी प्रदेशमा आवश्यक रहेको कानुनका विषयमा अध्ययन गर्न चुडामणी आचार्यको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
प्रतिक्रिया