सट्टेबाजीको आरोपमा ललितपुरबाट ५३ जना पक्राउ

साझा प्रेस
550
Shares

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुरको सात दोबाटोबाट अनलाइन जुवा खेलाएको र ‘कल बाइपास’ गरेको आरोपमा ५३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा २९ महिला सहित ५१ नेपाली र दुई भारतीय रहेका सिआइबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनीहरूलाई गएराति ललितपुर महानगरपालिका वडा नं १५ सातदोबाटोस्थित सुरेन्द्र गोपाल श्रेष्ठको पाँच तले पक्की घरको चौथो तल्लाबाट नियन्त्रणमा लिइएको हो । “हामीले सोमबार राति ८५ थान ल्यापटप र ९६ थान मोबाइलसहित उनीहरूलाई नियन्त्रणमा लिएका छौँ, हाल अनुसन्धान भइरहेको छ”, बोगटीले भने ।

पक्राउ परेका दुई भारतीयमा विहार राज्यको मोतिहारीका मनिषकुमार झा र भारतको गुजरातका राहुल मेगोडा रहेका छन् । झा समूहका मुख्य व्यक्ति हुन् भने मेगोडा तालिम व्यवस्थापक रहेको जानकारी गराइएको छ ।

यसैबीच सिआइबीले पक्राउ गरेका ५३ मध्ये सात जनामाथि सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान थालेको छ ।

काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी मुख्य अभियुक्त सात जनामाथि मुद्दा चलाइएको र अन्यको विषयमा संलग्नताबारे छानबिन भइरहेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।