नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उडानमा रोक लगाए कार्वाही गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले स्थानीय तह र राष्ट्रिय निकुञ्जहरूले हेलिकोप्टर उडानमा रोक लगाए कारबाही गर्ने चेतावनी दिएका हुन् ।
महानिर्देशक अधिकारीले नेपालमा हवाई उडानको अनुमति दिने वा नदिने विषय नागरिक उड्डयन प्राधिकरणको भएकाले यस बिषयमा अन्य क्षेत्रको हस्तक्षेप मान्य नहुने भन्दै यस्तो कार्य नगर्न आग्रह समेत गरेका छन् ।
गत मंसिरमा सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यवसायिक हेलिकोप्टर उडानमा रोक लगाएको थियो ।
सोही विषयमा सम्बन्धित रहेर उठाइएको प्रश्नको जवाफ दिँदै अधिकारीले नियम विपरीत र कार्य क्षेत्र विपरीत काम भए नेपाल नागरिक उड्डयन प्राधिकरण २०५३ र गैर सैनिक हवाई उडान ऐन, २०१५ बमोजिम राज्यका कर्मचारी, जनताले निर्वाचित गरेका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिए ।
महानिर्देशक अधिकारीले हवाई उडान रोक्छु भन्ने शब्द पनि प्राधिकरणले सुन्न नसक्ने स्पष्ट पारेका छन् ।
प्रतिक्रिया