पोखरा सडक महोत्सवको रौनकले स्वदेशी तथा विदेशीलाई तान्दै

साझा प्रेस
50
Shares

नेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ ।

लेकसाइडको सडक नियाल्दा लाग्छ नेपालको विभिन्न जातजाती, समुदाय र भाषाभाषिको प्रितिनिधित्वले सिङ्गो नेपालको तस्बिरलाई उजागर गरिहेका छ ।

गत शनिबारदेखि लेकसाइडमा सुरु भएको देशकै ठूलो पोखरा सडक महोत्सवको झाँकिसहितको तामझाम, कला कौशलको प्रस्तुति र हजारौँको संख्यामा उपस्थित स्वदेशी र विदेशी नागरिकको सहभागिताले पोखराको पर्यटनलाई जुरुक्कै उचालेको छ । महोत्सवको उद्घाटन सत्रमा आयोजित झाँकिसहितको ¥यालिमा प्रदर्शित ‘मगर गाउँ’, थारु नृत्य, गुरुङ समुदायको विशेष प्रस्तुति विशेष आकर्षण रहे । महोत्सवको सन्दर्भमा लेकसाइड क्षेत्र दुलही झँै सिगारिएको छ । साज सजावटले सडकको रौनक बढाएको छ ।

 सडक महोत्सवले पोखराको मात्रै नभइ समग्र देशको पर्यटन प्रवद्र्धनमा महत्वपूण टेवा पुगिरहेको छ । महोत्सवमा जातीय कला र संस्कृति झल्कने ६५ भन्दा बढी झाँकीको प्रस्तुति गरिएको थियो । साथै स्थानीय रैथाने उत्पादन, हस्तकलाका सामग्रीलगायतका स्टल पनि पर्यटकको रोजाइमा परेका छन् ।

२५ वर्ष अगाडि सुरु भएको पोखरा सडक महोत्सवले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुँदै आएको रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडेल जानकारी दिए । खासगरी पर्यटकीय गतिविधि कम हुने यो सिजनमा बाह्य तथा आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउन र पोखरालाई सडक महोत्सवको पर्यायका रुपमा चिनाउन रेबान पोखराले २५ वर्षअघिदेखि महोत्सव सञ्चालन गर्दै आएको हो ।

अङ्ग्रेजी महिनाको डिसेम्वर २८ देखि जनवरी १ तारिकसम्म आयोजना हुने पोखरा सडक महोत्सवमा पाँच लाख पर्यटकको आगमन हुने अपेक्षा रेबान पोखराको छ । अन्तर्राष्ट्रियस्तरमानै हरेक अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने पोखरा सडक महोत्सवलाई अन्तर्राष्ट्रियस्तरमा नै स्थापित गराउने अभियान रहेको रेबान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराई बताए । पर्यटकीय राजधानी पोखरामा निजी क्षेत्रबाट झण्डै रु पाँच खर्ब रुपैयाँ लगानी भएको भन्दै निवर्तमान अध्यक्ष भट्टराईले पर्यटकीय पूर्वाधार निर्माणमा राज्यले चासो दिनुपर्नेमा जोड दिए ।