जलवायू परिवर्तनको असरले श्रम क्षेत्र समेत प्रभावित

साझा प्रेस
0
Shares

पछिल्लो समय बढ्दै गइरहेको जलवायु परिवर्तनको असरले श्रम क्षेत्रमा पनि समस्या बढाएको सरोकारवाहरुले गुनासो गरेका छन् ।

आज क्लास नेपालले काठमाडौँमा आयोजना गरेको ‘श्रमिकमा जलवायु परिवर्तनको प्रभावमा बहुपक्षीय संवाद’ मा सहभागीले जलवायु परिवर्तनले देखिएका श्रम समस्या समाधानका बहस आवश्यक रहेको बताएका हुन् ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव समेत रहेका रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले जलवायुजन्य जोखिमबाट श्रमिकलाई बढी समस्या उत्पन्न हुने भएकाले यसको समाधान तत्काल गर्नुपर्ने ताए । पुडासैनीले जलवायु परिवर्तनको असरले तापक्रममा वृद्धि भई बाहिरी वातावरणमा काम गर्न नसक्ने अवस्था सिर्जना हुनसक्ने भन्दै दैनिक ज्यालामजदुरी गरेर गुजारा टार्ने श्रमिक मारमा पर्ने जिकिर गरे ।

श्रम, रोजगार, तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले बढ्दो जलवायु परिवर्तनको जोखिमबाट अनुकूलित हुन श्रमिकको स्वास्थ्य र सुरक्षामा ख्याल गर्दै नीति तथा कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जलवायु परिवर्तनको मुख्य असर महिला श्रमिकलाई परेको भन्दै असर न्यूनीकरणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।