साहित्यकार हरि कट्टेलको नवौं कृति छन्दोबद्ध कवितासंग्रह दीप्तदृष्टि आगामी सोमबार लोकार्पण हुने भएको छ ।
नेपाल स्रष्टा समाजको स्थापना दिवसको अवसर पारेर बिराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गद्धारा कट्टेलकृत कवितासंग्रह लोकार्पण हुन लागेको हो । उनको पहिलो कृति २०४५ सालमा लघुकाव्य बिलौनै बिलौना पाठक माझ आएको थियो भने २०६१ मा अनावृत आकृति कवितासंग्रह, आँखामा अल्झिएका आँखाहरु, मुटु टुक्रिएपछि लगायतका बिभिन्न कृतिहरु बजारमा छन् ।
सोलुखुम्बुको नेचामा जन्मिएका कृतिकार कट्टेल हाल बिराटनगरमा बसोबास गर्दै आएका छन् । नेपाली, अँग्रेजी तथा बजार शास्त्रमा स्नाकोत्तर गरिसकेका उनले वाणी पुरस्कार, नेचाली तारा सम्मान, दुर्लभ लामिछाने स्मृति पुरस्कार एवं पल्लव राष्ट्रिय साहित्य सम्मान, षडानन्द प्रतिमा पुरस्कार, मोती पुरस्कार लगायतका दर्जनबढी सम्मान प्राप्त गरेका छन् ।
खोटाङ सामाजिक सेवा, मञ्च बिराटनगरमा हुने नयाँ कृति दीप्तदृष्टिको लोकार्पण कार्यक्रममा सहभागिताका लागि साहित्यकार कट्टेलले सबैलाई आमन्त्रण गर्दै आगामी दिनमा सामाजिक चित्र झल्काउने गरी यस्ता कृतिहरु रचना गरिरहने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया