झापामा एकैदिन लागुऔषध सहित ५ जना पक्राउ

साझा प्रेस
0
Shares

झापामा लागुऔषध कारोबार गरेको अभियोगमा प्रहरीले शनिबार एकैदिन पाँच जना विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

प्रहरीले मेचीनगर–६ का ४१ वर्षीय रुपेश पाख्रिन र ३२ वर्षीय डिकबहादुर मगर, इलामको माङसेबुङ–४ का २४ वर्षीय रोदन लिम्बू र दमक–६ का २० वर्षीय नवीन ठटाल सहित झापाको बुद्धशान्ति गाउँपालिका–३ मा प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ गरेको हो ।

बुधबारे इलाका प्रहरी कार्यालय, झापाबाट खटिएको प्रहरीले गए राति धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नगद रु तीन लाख छ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

लागुऔषध कारोबार भइरहेको सूचना प्राप्त गरी प्रहरी टोली धिमालको घरमा पुगेको थियो । पक्राउ परेकी धिमाललाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैची, अचानो र हथौडा बरामद भएको प्रहरीले जनाएको छ ।

आरोपी नवीन र रोदनलाई प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र ट्रामाडोल क्याप्सुलसहित प्रहरीले दमकबाट नियन्त्रणमा लिएको थियो भने रुपेश र डिकबहादुरलाई मेचीनगरको काँकडभिट्टाबाट पक्राउ गरेको सूचना अधिकारी चन्दले जानकारी दिए ।