बैदेशिक रोजगारीका लागि माल्टा पुगेका नेपालीहरु मध्येबाट ६ सय बढीले राहदानीको आवेदन संकलन भएको छ ।
विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको हो । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको जनाएको छ ।
शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र माल्टामा जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानी गरी कूल छ सय ५० जनाको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको राससले जनाएको छ । पाँच दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट झण्डै सात सय नेपालीले सेवा लिएका छन् ।
शिविरबाट करिब ७८ हजार युरो अर्थात् रु एक करोड १० लाख राजस्व सङ्कलन भएको स्पेनस्थित राजदुतावासले जनाएको छ । शिविरबाट राहदानी नवीकरण, राहदानी वितरण र कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा प्रवाह गरिएको दूतावासले जनाएको छ ।
माल्टामा नेपाली दूतावास नभएका कारण राहदानी विभाग र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले त्यहाँ घुम्ती शिविर सञ्चालन गरेको हो । यसअघि दूतावासले गत महिना स्पेनको बार्सिलोनामा घुम्ती सेवा सञ्चालन गरेको थियोे ।
प्रतिक्रिया