पर्वतमा एउटा व्यवसायिक समूहले रेन्बो ट्राउट माछा व्यवसाय गरी बार्षिक ३ करोडसम्म आम्दानी गर्र्दै आएका छन् ।
यसअघि नेपाल प्रहरी सेवा तथा २०७४ सालमा स्थानिय तहमा वडा अध्यक्ष बनि सकेका विकास तिमिल्सिनाको नेतृत्वमा रहेको व्यवसायिक समूहले पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. २ मा ट्राउट माछाबाट आम्दानि गरिरहेका छन् ।
अघिल्लो कार्यकालमा सोही वडाका अध्यक्ष बनेका तिमिल्सिना सहित अन्य ४ जनाले मोदी–५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा झण्डै ३० रोपनी क्षेत्रमा ट्राउट माछाको फार्म संचालन गरिरहेका छन् । अघिल्ले आर्थिक बर्षमा फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट रु तीन करोड आम्दानी भएको तिमिल्सिनाले बताए ।
लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकबाट अवकाश लिएका तिमिल्सिना जागिर छाडेको तीन महिनामै जनप्रतिनिधि बनेका थिए । जनप्रतिनिधि निर्वाचित भएसँगै व्यवसायमा जोडिएका तिमिल्सिनाको समय हाल माछापालनमा बित्ने गरेको छ ।
त्यहाँ उत्पादित ट्राउट माछा पोखरा–काठमाडौँसम्म पुर्याउन भ्याइनभ्याई छ । वार्षिक तीस टन माछा उत्पादन हुने फार्ममा हाल पाँच जनाले रोजगारी पाएका छन् । २०७१ सालबाट शुरु गरिएको व्यवसायमा विकास तिमिल्सिना सहित यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्काले सामूहिक लगानी गरेका छन् ।
फार्मबाट भएको आम्दानीमध्ये सबै खर्च कटाएर रु १ करोड १५ लाख बचत हुने गरेको छ । अस्थायी र स्थायी गरी ३७ वटा पोखरी रहेको सो फार्ममा सुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समयमा कृषि ज्ञान केन्द्रले केही प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ भने मत्स्य विकास केन्द्रले पनि फार्मको स्तरोन्नति तथा पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
प्रतिक्रिया