चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा तीन खर्ब २३ अर्ब २४ करोड राजस्व संकलन भएको छ ।
अर्थ मन्त्रालय अन्र्तगत उच्च व्यवस्थापन समितिको बिहिबार बसेको बैठकमा प्रस्तुत बिबरण अनुसार अघिल्लो चौमासिकको तुलनामा यस बर्ष राजस्व संकलन करिब १७ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष यही अवधिमा रु दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिवरण प्राप्त भएपछि अझै पनि राजस्व संकलन लक्ष्यअनुसारको कार्य नभएको भन्दै कर सङ्कलन प्रणाली तोड्न (सिस्टम ब्रेक) खोज्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन् । राजस्व स्कलनको लक्ष्य प्राप्त गर्न स्रोत र खर्च व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री पौडेलले करको दायरा विस्तार, बक्यौता असुली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचरण लगायतका पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक रहेको बताए ।
पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आव २०७६/७७ मा रु ११ खर्ब १२ अर्ब तीन करोड लक्ष्य रहेकोमा ७१ दशमलव ३८ प्रतिशत प्रगति भएको थियो । आव २०७७/७८ मा रु १० खर्ब ११ अर्ब ७६ करोड लक्ष्य रहेकामा ९२.५० प्रतिशत, आव २०७८/७९ मा रु ११ खर्ब ८० अर्ब ६० करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा ९०.२४ प्रतिशत, आव २०७९/८० मा रु १४ खर्ब तीन अर्ब १५ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा ६८.२३ प्रतिशत र गत आव २०८०/८१ मा रु १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व सङकलनको लक्ष्य रहेकामा ७४.५४ प्रगति भएको थियो ।
चालु आवको वार्षिक राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब १९ अर्ब ३० करोड रहेको मन्त्रालयले जनाएको छ । यो लक्ष्य भनेको गत आवको यथार्थ असुलीको तुलनामा करिब ३४ प्रतिशतले बढी हो ।
प्रतिक्रिया