सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन प्रति शोक ब्यक्त गर्दै सार्वजानिक बिदा दिने तथा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र उनको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
बैठकले स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ । प्रवक्ता गुरुङले पूर्वसभामुख ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेल्नुभएको भूमिकाको बैठकले कदर गरेको उल्लेख गर्दै उहाँको निष्ठा र आदर्शलाई आत्मसम्मान गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।
ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको आज अन्त्येष्टि गरिने जनाइएको छ ।
यसैबिच पार्टीका नेता एवम् पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्दै छ ।
बैठक आज विहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया