दार्चुला दुर्घटनामा मृत्यु हुनेको संख्या आठ, घाईतेलाई धनगढी लगियो

साझा प्रेस
50
Shares

दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ ।

हेलिकप्टरमा उद्धार गरिएकामा जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकाया रहेका छन् । उनीहरुलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा आज बिहान म१ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको उक्त जीपमा सवार आठ जनाको मृत्यु भएको थियो । स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनाका अन्य घाइतेको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।