अख्तियार ऐन संशोधन बिधेयक माथि छलफल

साझा प्रेस
50
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रदान गरिएको जिम्मेवारीलाई अझ प्रभावकारी बनाउन ऐनमा नै संशोधन गरिनु पर्ने तर्क उपर छलफल शुरु भएको छ ।

सोमबार प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न बसेको बैठकमा सहभागि सांसदहरुले भ्रष्टाचारसम्बन्धी विषयको अनुसन्धान गर्ने मुख्य जिम्मेवारी प्राप्त अख्तियारको भूमिकालाई बलियो बनाउने प्रावधान ऐनमा समेटिनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलले आफ्नो स्वार्थअनुसार भागवण्डामा अख्तियारलाई प्रयोग गर्दै आएकाले पनि यस्ता संस्थाले स्वतन्त्र भएर यसको मुल्य मान्यता र पद्धती अनुसार कार्य गर्न नसकेको बिचार ब्यक्त गरे । उनले भने, “भ्रष्टाचार मुक्त समाज नभएसम्म सुशासन कायम हुन सक्दैन, ‘सिंहदरबार र भ्रष्टाचार’ पर्याय बनेको छ, यसलाई चिर्न अख्तियार दुरुपयोग आयोग ऐनलाई बलियो बनानुपर्छ ।”

बैठकमा सांसद अमरेशकुमार सिंहले भ्रष्टाचार न्यूनीकरण गर्न राज्य सञ्चालक नै जिम्मेवार हुनुपर्ने बताए । एक पटकको भ्रष्टचारी सँधैको भ्रष्टाचारी भएको उल्लेख गर्दै उनले भ्रष्टाचारीलाई कारबाहीको हद राख्न नहुनेमा जोड दिए ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले अख्तियारको भुमिका प्रभावकारी बनाउन आवश्यक सुधारका लागि सबै ऐक्यबद्ध भई अगाडी बढ्नु पर्ने बिचार राखे ।
समिति सभापति रामहरि खतिवडाले उक्त संशोधन विधेयकमा ३२ सांसदले ६३ वटा संशोधन दर्ता गराएको जानकारी दिएका छन् ।