रवि लामिछानेलाई वयानका लागि रुपन्देही लगिने

साझा प्रेस
0
Shares

सहकारी रकम हिनामिनाको आरोपमा २४ दिनदेखि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मङ्गलवार रुपन्देही लागिने भएको छ ।

आईतबार जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि थप १३ दिन हिरासतमा राख्न आदेश दिएसँग लामिछानेलाई रुपन्देही लगिने भएको हो । बिभिन्न ५ वटा सहकारीको रकम अपचलन गरेको आरोप लागेको लामिछानेलाई रुपन्देहीमा रहेको सुप्रिम सहकारीको रकम हिनामिना सम्बन्धि अनुसन्धानका लागि त्यस तर्फ लान लागेको प्रहरीले जनाएको छ ।

कास्कीमा भने सूर्यदर्शन सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार पोखराको अनुसन्धान भने सकिएको छैन ।

कात्तिक २ गतेदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही पठाउन प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।

उनलाई बिमान मार्फत पोखराबाट रुपन्देही तर्फ लग्ने तयारी भएको छ । रुपन्देही प्रहरी प्रमुख रन्जित सिंह राठौरले लामिछानेलाई सोमबार साँझ रुपन्देही ल्याउने तयारी गरिए पनि साँझ पोखराबाट आउने विमान नभएकाले मङ्गलवार ल्याइने जनाएका छन् ।

रुपन्देही जिल्ला अदालतबाट प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न हिरासतमा रहेका लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन् । बञ्जाडेलाई यसअघि नै रुपन्देही ल्याएर बयान गरि कास्की पठाई सकिएको छ ।