मौषम बिग्रिएपछि हजार बढी पर्यटक लुक्लामा नै रोकिए

साझा प्रेस
150
Shares

खराब मौषमका कारण २ दिनदेखि लुक्ला बिमानस्थलमा उडान नहुँदा १ हजार बढी पर्यटक अलपत्र परेका छन् ।

केही दिन यता मौषममा आएको परिवर्तनले हिमाली क्षेत्रको मौषम खराब हुँदा पर्यटनका लागि सगरमाथा क्षेत्र जान हिडेका तथा फर्कने पर्यटकहरु अलपत्र परेका हुन् । बिहानैबाट बाक्लो हुस्सु तथा कुहिरो लाग्ने गरेकाले उडान हुन नसकेको तेञ्जिङ हिलारी बिमानस्थल, लुक्लाका प्रमुख उमेश चन्द्र पन्थीले जानकारी दिनुभयो ।

प्रमुख पन्थीका अनुसार २ दिनको अवधिमा नै करिब १ सय भन्दा बढी उडानहरु रद्ध भएका छन् । मौषम खराब भएपश्चात हवाई जहाज उडान तथा अवतरण पुर्ण रुपमा नै ठप्प हुन्छ भने केही उडान हेलिकप्टरले गरेका छन् । हेलिकप्टरले लुक्ला बिमानस्थलबाट केही उडान गरेको छ भने सुर्केबाट पनि उडानहरु गरेको पन्थीले बताए ।

आज मात्र लुक्लाका लागि रामेछाप तथा काठमाण्डौबाट ५५ वटा उडान तालिका तय भएपनि एउटा पनि उडान नभएको विमानस्थलले जनाएको छ ।

मौषमले बिमान नआएपछि निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटकलाई बढी समस्या परेको ट्रेकिङ व्यवसायीहरुले गुनासो गरेका छन् । उनिहरु अझै मौषममा सुधार भई उडान हुने आशामा लुक्लामा नै रहन बाध्य छन् ।

सडक माध्यमबाट खुम्बु पासाङल्हामु गाउँपालिकाको छेउवाससम्म मात्र सवारी साधन आवतजावत हुने तथा त्यस स्थानसम्म पुग्न समेत समय लाग्ने भएकाले पर्यटकहरु बिमानको आशामा बसेको व्यवसायीहरु बताउँछन् ।