अलपत्रलाई उद्धार

मेची–महाकाली राष्ट्रिय उद्धार अभियानः ३ दिनमा २८ सडक आश्रित उद्धार

साझा प्रेस
200
Shares

मानव सेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा संचालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको तेस्रो दिन बुधबार १२ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको छ ।

यो यात्रा यस बर्ष “यस पटकको चाडपर्वमा कसैले सडकमा बस्न नपरोस्” भन्ने नारासहित सुरु भएको हो । ३२ दिनसम्म निरन्तर चल्ने यस अभियानमा सुनसरी जिल्लाका दुहबी, इटहरी, र धरानका विभिन्न स्थानहरूमा रहेका सडकआश्रित तथा बेवारिसे अवस्थामा भेटिएका मानिसहरूलाई उद्धार गरिएको छ ।

उद्धार टोलीले दुहबी नगरपालिका–७ बाट १ जना, इटहरी उपमहानगरका विभिन्न वडाबाट ७ जना, र धरानबाट ४ जना गरी कुल १२ जनाको उद्धार गरेको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

उद्धार गरिएका व्यक्तिहरूलाई विराटनगरस्थित मानवसेवा आश्रमको सेवा केन्द्रमा संरक्षणको लागि पठाइएको छ ।

यात्राको पहिलो दिन सोमबार झापा जिल्लाका विभिन्न क्षेत्रबाट १० जना र दोस्रो दिन ६ जना सडक आश्रित मानिसहरूको उद्धार गरिएको थियो ।

यस उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना सहभागी छन् ।

मानवसेवा आश्रमले विगत १२ वर्षदेखि सातै प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गर्दै सडक आश्रित मानिसहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको छ ।