वर्तमान सरकार ढल्ने कुरा अफवाह होः प्रधानमन्त्री ओली

साझा प्रेस
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी गरेका छन् ।

दशैंपछि सरकार परिवर्तन हुने भन्ने अफवाह फैलाइएको भन्दै उनले त्यस्ता भ्रममा नपर्न सबैलाई आग्रह गरे । ६९ औं प्रहरी दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २०८४ सालको दशैंपछि मात्रै सरकार परिवर्तन हुने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल पूरा भएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता दोहो¥याए ।

उनले देउवाको नेतृत्वमा चुनावी सरकार गठन हुने र निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ सरकार बन्ने उल्लेख गरे । त्यसअघि कांग्रेस–एमाले गठबन्धनको सरकार कायमै रहने उनले दाबी गरे । साथै, वर्तमान सरकार दुई–तिहाई बहुमतको रहेको भन्दै त्यसलाई कमजोर ठान्न नहुने चेतावनी पनि दिए ।

दशैंपछि तुरुन्तै सरकार परिवर्तन हुने भन्ने अफवाहप्रति प्रतिक्रिया जनाउँदै ओलीले भने, “कुन दशैंपछि सरकार परिवर्तन हुन्छ ? २०८४ सालको दशैंपछि मात्र चुनावी सरकार गठन हुनेछ, त्योभन्दा पहिला होइन । मैले पहिले नै भनेको छु, शेरबहादुरजीलाई सत्ता हस्तान्तरण गर्नेछु । त्यसपछि चुनाव उहाँको नेतृत्वमा हुनेछ । चुनावपछि जनताले निर्वाचित गरेको सरकार आउनेछ।“

प्रधानमन्त्री ओलीले वर्तमान शासन प्रणालीको कुनै विकल्प नभएको पनि बताए। उनले नेपाल प्रहरीले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै प्रहरीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।