मनसुन पछि चिसो बढ्दै

साझा प्रेस
100
Shares

काठमाण्डौ सहित नेपालमा बिभिन्न क्षेत्रमा चिसो बढ्न थालेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्न थालेको हो । पछिल्लो साता काठमाण्डौमा बिहान तथा बेलुकाको समयमा चिसो निक्कै बढेको महसुस हुन थालेको छ ।

मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौंको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कायम छ । ‘काठमाडौंमा चिसो निरन्तर रुपमा बढिरहेको छ’, मौसमविद अधिकारीले भने, ‘पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।’

मनसुन बाहिरिएसँगै पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।