बडा दशैंः फुलपाति धुमधाम मनाईदै

साझा प्रेस
100
Shares

आज बडादशैंको सप्तमी तिथी, दशैंको यो विशेष दिनलाई ‘फूलपाती’ भनिन्छ । यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने गरिन्छ ।

कृष्ण वर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरबार, मसाल बोकेकी घोर मुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुईँमा झरेको हरेक थोपा रगतबाट पुनर्जीवन पाउने रक्तबीज नामक दैत्यको संहार गर्नुभएको हुनुहुन्छ ।

आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरा पात अनि विभिन्न प्रकारका फूलपाती मिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

आजको यस विशेष सातौँ दिन दुर्गाको सातौँ स्वरूप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

गोरखा दरबारमा फूलपाती
नेपाल एकीकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाउँहरूमा रहेका महत्त्वपूर्ण शक्ति पीठहरूमा पु¥याउने चलन थियो । नेपाल एकीकरणदेखि नै एकता र सांस्कृतिक प्रतीक गोर्खा जिल्लासँग नेपालीको पहिचान जोडिएको छ ।

तसर्थ, गोरखाको फूलपाती विशेष हुने गर्दछ । काठमाडौँको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो ।

लोकतन्त्र आगमनपछि यो ऐतिहासिक चलनलाई निरन्तरता नदिए पनि थोरै फूलपाती भए पनि मोटरसाइकलमा काठमाडौँसम्म ल्याइने गरिएको स्थानीय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तब मात्र फूलपाती भित्र्याउने चलन छ ।

फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरबारका कर्मचारीहरू सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती सङ्कलन गर्न निस्किन्छन् । यसरी सङ्कलन गरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सती पिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ ।

उक्त फूलपातीलाई विशेष मौलिक सिँगार पटार गरेर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ । दरबारबाट आएका विशेष टोलीहरूले बाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रा गरेर फूलपाती दरबार भित्राउने चलन छ ।

यस्तो शोभा यात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरू उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपाती काठमाडौँ ल्याएपछि नेपाली सेनाको एक टुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन छ ।