अमेरिकामा शताब्दीकै शक्तिशालि तुफानले आतंक फैलिएको छ । अमेरिकाको फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढेको मिल्टन तुफान अझै शक्तिशाली बनेको बिबिसीले जनाएको छ ।
यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् ।
यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ ।
मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ ।
ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् ।
राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् ।
यो तुफान बुधबार बेलुका टाम्पा खाडी क्षेत्रको जमिनमा बज्रिने र मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ अघि बढ्ने अनुमान गरिएको छ । यसको बाटो पर्ने क्षेत्रमा विनाश गर्ने अनुमानमा सयौं व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
केही दिन अघिमात्रै हेलेन तुफानले अमेरिकामा विध्वंश मच्चाएको थियो । हेलेन तुफानमा परी मृत्यु हुनेको संख्या १३० पुगिसकेको छ ।
प्रतिक्रिया