स्थानिय आन्दोलनरत पक्षसँग सहमति भएपश्चात मेलम्चीको पानी मंगलबारबाट काठ्माण्डौ आउने भएको छ ।
मेलम्चीको पानी आज २ बजेपछि छाडिने तयारी भएको खानेपानी मन्त्री प्रदिप यादवले जानकारी दिए । मेलम्चीको पानी पुर्ण क्षमतामा संचालन हुने तथा दैनिक १७ करोड लिटर पानी आउने मन्त्री यादवले बताए ।
आन्दोलनरत मेलम्ची संघर्ष समितिसँग वार्ता गर्न खानेपानीमन्त्री यादव सहित टोली सोमबार मेलम्ची पुगेको थियो । हेलम्बु गाउँपालिका मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज माग सम्बोधन गर्ने सहमति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।
वार्तामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले बिक्री गरेको मेलम्ची पानीबाट प्राप्त हुने रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने मागमा मन्त्रालय र सरोकारवाला निकायबीच छलफल गरी तीन महिनाभित्र टुंग्याउने सहमति भएको छ ।
त्यस्तै हेलम्बु मेलम्ची एकीकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठन प्रस्ताव यथाशीघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी कार्यान्वयनमा खानेपानी मन्त्रालयले पहल गर्ने सहमति छ ।
अत्यधिक बर्षा पश्चात गत असार ११ देखि मेलम्चीको पानी काठमाडौं ल्याउन बन्द गरिएको थियो ।
प्रतिक्रिया