‘ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड’ को पदयात्रा सम्बन्धी वृत्तचित्र शनिबार बागबजार स्थित सिटीम्याक्स सिनेमा हलमा भव्य रुपमा प्रदर्शनी सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविधालय ग्रामीण विकास केन्द्रीय विभागका उप प्रा.डा. राजन बिनायक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी माविका शिक्षक लिला बहादुर विश्वकर्माले गत वर्ष कात्तिक १३ गते सुरु गरेर २७ जिल्ला ४१ दिनमा पैदल पार गरेका थिए ।
छोटो समयमै यात्रा पार गर्न, पदयात्रा गर्न चाहने पदयात्रीलाई आकर्षित गर्न, सो रुटमा पर्ने स्थानीयको जनजीविकाको अवस्था अध्ययन अनुसन्धान गर्न, सहज रुट पहिचान गर्न, साथै वृत्तचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा गरिएको हो । वृत्तचित्र निर्माता राजन बिनायक पासाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथि पर्वतारोही माया गुरुङ, ग्रामीण पर्यटनविद् प्रा. डा. प्रेम शर्मा, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा राना मगरले शिक्षक पेशामा रहेर केही गरौँ भन्ने हुटहुटीले गरेको महान् पदयात्राको लागी प्रशंसा गर्दै फेरि पनि यस्ता काम निरन्तरता दिन आग्रह गरिन् । पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने काम व्यक्तिले आफ्नै खर्चमा गर्दा पनि राज्यले बेवास्ता गरेकोमा दुखेसो गर्दै राज्यले पर्यटनसँग सम्बन्धित काम गर्दा पर्यटन विज्ञसँग मिलेर काम गरे फलदायी हुने बिचार राखिन् ।
कार्यक्रममा बोल्दै पदयात्री तथा वृत्तचित्र निर्माता डा. राजन बिनायक पासाले सम्पूर्ण आतिथिलाई मौसमको विषमता हुँदाहुँदै पनि आउनुभएका सम्पूर्ण दर्शक तथा अतिथिहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कामलाई निरन्तरता दिने बताए ।
प्रतिक्रिया