बिगत केही दिनदेखि मौषमका कारण चिन्तित बनिरहेका पर्यटक तथा पर्यटन व्यवसयीसँगै विमान कम्पनीहरुले आज केही राहतको सास फेरेका छन् ।
अघिल्लो साता नियमितको बर्षा तथा बादलका कारण कुनै पनि उडान हुन नसक्दा खुम्बु क्षेत्र भ्रमणका लागि तयारी गरेका पर्यटकहरु काठ्माण्डौ तथा रामेछापमा नै रोकिएका थिए । अझ असोज १२ गतेको बाढी पहिरोले सडक सञ्जाल ठप्प भएपश्चात एक मात्र विकल्प हवाई मार्गलाई समेत मौषमले साथ दिएन ।
सगरमाथा क्षेत्र भ्रमणका लागि आएका बाह्य पर्यटकहरुको घुईचो बढ्दै जाँदा आईतबार दिनभरी जसो लुक्ला बिमानस्थल ब्यस्त बन्यो । आज दिनभरीमा सबै तर्फ १ सय ४३ उडान भएको तेन्जिङ हिलारी विमानस्थलका प्रमुख उमेश चन्द्र पन्थीले जानकारी दिए । प्रमुख पन्थीका अनुसार ४३ वटा हवाई जहाज तथा १ सय वटा हेलिकोप्टर मार्फत एक हजारभन्दा बढी पर्यटक खुम्बुपासाङल्हामु गाउँपालिका पुगेका छन् । आईतबार जहाजमार्फत ७ सय ७४ जना र हेलीकोप्टर मार्फत करिब २२५ जना पर्यटक खुम्बु भित्रिएका छन् ।
मौषमले साथ दिएमा लुक्लामा तारा, समिट तथा सिता एयरको जहाजले ५० वटासम्म तथा हेलिकोप्टर कम्पनीहरुले १ सय वटासम्म उडान गर्दै आएको तारा एयरका लुक्ला स्टेशन म्यानेजर अमृत मगरले बताए । मगरका अनुसार आईतबार तारा एयरले रामेछापबाट १२ तथा काठमाण्डौबाट एउटा उडान भरेको छ । त्यस्तै समिट एयरले काठमाण्डौबाट २ तथा रामेछापबाट १२ र सिता एयरले काठमाण्डौबाट ४ तथा रामेछाप ८ वटा उडान भरेको पनि मगरले जानकारी दिए ।
पर्यटनको महत्वपुर्ण सिजनको रुपमा लिइने अक्टोबर सिजनमा यस बर्ष अघिल्ला बर्षहरुभन्दा बढी पर्यटक आउने आशा ब्यवसायीहरुले लिए पनि मौषम तथा प्राकृतिक प्रकोपका घटनाले सो संख्या कम हुन सक्ने आशंका गरेका छन् । तथापि सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकहरुलाई सुरक्षित पर्यटनको विश्वास दिलाउन यस क्षेत्रका ब्यक्तिहरु लागि परेका छन् ।
किर्तिमानी आरोही कामिरिता शेर्पाले आफ्नो फेसबुक पेज मार्फत केही पर्यटक तथा सगरमाथा क्षेत्रको सुन्दर फोटो राखेर सगरमाथा आधार शिबिर घुम्न आउनेलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् । चर्चित एवं किर्तिमानी आरोही कामिरिताको सो स्टाटसमा आफ्नै नेतृत्वमा अक्टोवर १९ देखि शुरु हुने सगरमाथा आधार शिबिर ट्रेकमा सहभागि हुन चाहनेलाई उनले आव्हान गरेका छन् ।
प्रतिक्रिया