सेयर किनबेचका लागि नयाँ सुविधा

साझा प्रेस
750
Shares

सेयर र अन्य धितोपत्र किनबेचका लागि आजदेखि ब्रोकर कम्पनीकै टीएमएस सञ्चालनमा आउने भएको छ । आइतबारदेखि सेक्योर्ड सेक्युरिटिजले आफ्नै टीएमएस सञ्चालनमा ल्याउने भएको हो ।

यसअघि केही ग्राहकहरुमा परिक्षण गरिएको टीएमएस आईतबारबाट औपचारिक रुपमा संचालन मा ल्याउने सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । मैनालीका अनुसार बुधबारसम्म १ हजार ५२ ग्राहकले नयाँ टीएमएसको पहुँच पाइसकेका छन् ।

ब्रोकर कम्पनी आफ्नै टिएमएस सञ्चालनका लागि अनुमति प्राप्त भएपश्चात अन्य ब्रोकर कम्पनीले पनि आफ्नै टिएमएस ल्याउने योजनामा छन्् ।

सेक्योर्ड सेक्युरिटिज लगायतका ब्रोकर कम्पनीहरुले डिजीहब कम्पनीबाट नयाँ टीएमएस खरिद गरेका छन् । डीजीहबले श्रीलंकाको आइरन वान टेक्नोलोजीले विकास गरेको टीएमएस यहाँका ब्रोकर कम्पनीलाई पूर्ण तयार गरी हस्तान्तरण गर्दछ ।

संसारभर कारोबार प्रणाली ब्रोकर कम्पनीकै हुन्छ, नेपालमा नेप्सेले अस्थायी रूपमा ब्रोकर कम्पनीलाई टीएमएस दिँदै आएको थियो । अब ब्रोकर कम्पनीहरूको आफ्नै टीएमएस प्रयोग हुन थालेपछि आधुनिक प्रविधि अवलम्बनमा प्रतिस्पर्धा हुन गई ग्राहकले स्तरीय सेवा सुविधा पाउने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

हालसम्म मोबाइल एपबाट सहज रुपमा सेयर कारोबार गर्ने सुविधा थिएन । तर ब्रोकर कम्पनीको नयाँ टीएमएस भने मोबाइल एप भर्सनमा पनि उपलब्ध छ । नयाँ टीएमएस मोबाइल एप, डेस्कटप र वेब गरी तीन भर्सनमा उपलब्ध रहेको छ ।

ग्राहकले कारोबारका लागि टीएमएस चलाउँदा कुनै शुल्क बुझाउन पर्दैन, जुन पहिलेदेखि रहँदै आएको छ । नयाँ हालको टीएमएस मार्फत ग्राहकले कारोबारका लागि धितो (कोल्याटरल) लोड त गर्न सक्छन्, तर कोल्याटरको विवरण सही रूपमा देखिँदैन । नयाँ टीएमएसमा भने लोड भएको कोल्याटरल, खरिदपछि बाँकी रहेको कोल्याटरल सही रूपमा देखिने छ ।