एकिकृत समाजवादीको किचलो

एकीकृत समाजवादीमा भागबन्डाको चर्को विवाद

अध्यक्ष माधवकुमार नेपाल कार्य विभाजनमा पार्टीका केन्द्रिय कमिटी पदाधिकारीबिच नै होडबाजी चलेपछि चिन्तित बनेका छन् ।

साझा प्रेस
600
Shares

नेकपा एकीकृत समाजवादीमा विभागीय प्रमुख र जिल्ला इन्चार्जको टुङ्गो लगाउन सकस परेको छ । विगतदेखि नै पदका लागि निक्कै होडबाजी चल्दै आएको एसमा नयाँ केन्द्रिय कमिटी आएपछि झन यो विवाद चर्चिएको छ ।

दशैं अगाडि नै विभागीय प्रमुख तथा जिल्ला इन्चार्जको टुङ्गो लगाउने दाउमा रहेका पार्टी अध्यक्ष माधवकुमार नेपाल कार्य विभाजनमा पार्टीका केन्द्रिय कमिटी पदाधिकारीबिच नै होडबाजी चलेपछि चिन्तित बनेका छन् ।

अध्यक्ष नेपाल नेतृत्वको सात सदस्यीय कार्यदलले विभाग प्रमुख, ७७ जिल्ला इन्चार्ज, जनसङ्गठन प्रमुख र केन्द्रीय आयोग गठनको गृहकार्य गरे पनि नेताहरूले महत्वपूर्ण विभागको प्रमुख र केन्द्रीय सदस्यहरूले जिल्लाको इन्चार्ज आफैँ हुनुपर्ने अडान नछाडेपछि कार्यविभाजन गर्न कठिन भएको हो ।

गत साता कार्यदलको बैठक बसे पनि महत्वपूर्ण विभागहरू आर्थिक विभाग, सङ्गठन विभाग, विदेश विभाग र प्रचार विभागमा पदाधिकारीबिच नै कुरा नमिल्दा निर्णय गर्न नसकिएको एक नेताले जानकारी दिए ।

उप महासचिव समेत रहेका नेकपा एकीकृत समाजवादीका कार्यालय सचिव रामकुमार भट्टराई कार्यदलस्तरमा कार्यविभाजनबारे गृहकार्य भइरहे पनि ठोस निष्कर्षमा पुग्न बाँकी रहेको जनाएका छन् ।

विभाग मात्र नभएर एकभन्दा बढी केन्द्रीय सदस्य रहेका जिल्लामा जिल्ला इन्चार्ज बन्न पनि नेताहरूवीच चर्को प्रतिस्पर्धा रहेको बताइएको छ ।