नेपालले आईसीसी विश्वकप लिग –२ मा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।
स्कटल्याण्डले पहिलो ब्याटिङ गर्दै नेपाल सामु प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा आरिफ शेखले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५० रनको अविजित इनिङ खेले । गुलशन झा ३० बलमा ३ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे । छैटौं विकेटलाई यी दुई ब्याटरले ५१ बलमा ५७ रनको साझेदारी गरेका थिए ।
ओपनर अनिल साह १३, आसिफ शेख २१, कुशल मल्ल ७, कुशल भुर्तेल २५ र रोहित कुमार पौडेल १ रनमा आउट भए ।
नेपाललाई ओपनर अनिल र आसिफले ६.१ ओभरमा ३२ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । अनिल ब्रेन्डन म्याकमुलेनको बलमा एलबीडब्लू आउट भए ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४१.४ ओभरमा १५४ रनमा अल आउट भयो । मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाएका थिए ।
लिगको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । लिग २ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ । नेपालले अव शनिबार अमेरिका र सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।
स्कटल्यान्ड ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । ८ टोली सहभागी लिग २ मा शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।
प्रतिक्रिया