१० असोज, काठ्माण्डौ । आज दशौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । विसं २०५९ मा तत्कालीन मुलुकी ऐनको ११ औँ संशोधनबाट गर्भपतनलाई कानुनी मान्यता दिइएको दिनको सम्झनामा आज यो दिवस मनाउन थालिएको हो ।
“नेपालमा प्रतिएक लाख जीवित जन्ममा सन् १९९६ मा पाँच सय ३९ मातृमृत्युबाट सन् २०२१ मा एक सय ५१ मा झारेर उल्लेख्य सुधार गर्न सफल भएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले बताए । सन् २०३० सम्म ७० जनामा मातृमृत्युदर झार्ने लक्ष्य लिएका छौँ” उनले भने।
दश हप्तासम्मको औषधीको प्रयोगद्वारा गरिने गर्भपतन सेवाका लागि एक हजार छ सय ८३ स्वास्थ्य संस्था र चार हजार दुई सय ३५ स्वास्थ्यकर्मी, १० हप्तासम्मको औषधीको तथा उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि सात सय ३० स्वास्थ्य संस्था र एक हजार चार सय १९ स्वास्थ्यकर्मी, १२ हप्तासम्मको उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि तीन सय ५० स्वास्थ्य संस्था र दुई हजार आठ सय ६० चिकित्सिक तथा स्वास्थ्यकर्मी र १२ हप्ताभन्दा माथिको गर्भपतन सेवाका लागि ६३ वटा स्वास्थ्य संस्था र एक सय ८७ जना चिकित्सकलाई सूचीकृत गरिएको परिवार कल्याण महाशाखाका निर्देशक डा लालले जानकारी दिए ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, जनस्वास्थ्य सेवा ऐन, २०७५ र नियमावली, २०७७ ले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा, परामर्श तथा प्रेषण, गर्भपतन पश्चात् सेवा तथा आवश्यक परामर्श र परिवार नियोजन सेवालाई आधारभूत स्वास्थ्य सेवामा परिभाषित गरेको छ ।
“सम्मानजनक प्रजनन स्वास्थ्य तथा गर्भपतन अधिकारप्रति हाम्रो समर्पण दृढ छ र यो सेवा सबैको लागि उपलब्धता, पहुँचयोग्य, स्वीकार्य र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध छ”, महाशाखाका निर्देशक डा लालले भने । यो वर्ष ‘सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ गर्भपतन सेवा दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया