९ असोज, धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर आतंक नै भएको बताएका छन् । महासचिव पोखरेलले तत्कालिन समयमा नेकपा माओवादी भएका बिभिन्न आक्रमण तथा अन्य ध्वम्सात्मक घटना हिंसा मात्र नभई आतंक नै भएकाले हिंसा शब्द असंसदीय नरहेको जिकिर गरे ।
प्रेस चौतारी नेपाल, धनगढीले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुरक्षाकर्मीलाई रात्रिकालिन समयमा आक्रमण गर्ने, बसमा आगजनी गरेर मान्छे मार्ने, राति घरमा आगो लगाएर घरभित्र सुतिरहेका ११ जनाको हत्या गर्ने ती हिंसामात्र थिएनन् आतंक भएको बताए । उनले भने, माओवादी द्वन्द्वका समयमा भएका हिंसा र आतंक स्वीकार्य छैनन् भन्ने कुरा त माओवादी स्वयं पक्ष भएर गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी विषयमा उल्लेख छ ।
महासचिव पोखरेलले माओवादी आन्दोलनभित्र कार्यकर्ताको बलिदान समेत समेटिएकाले द्वन्द्वको क्रममा समाज परिवर्तनको लागि भनेर बलिदान दिएका माओवादी कार्यकर्ताप्रति भने एमालेको सम्मान रहेको प्रष्टयाए ।
‘समाजको परिवर्तनका लागि थियो भनेर लडेका कार्यकर्ताको आलोचना गरेको होइन तर गलत तत्वले हिंसात्मक क्रियाकलाप गरे त्यसको विरोध हामीले गरेका थियौं र अहिले पनि गर्छौं ।’ महासचिव पोखरेलले भने । हिंसा शब्दको विरोध गरेर माओवादीले संसद अवरोध गर्नुको अर्थ नरहेको भन्दै उनले गैर न्यायिक हत्याका घटनामा माफी नहुने भनेर माओवादीले नै हस्ताक्षर गरिसकेको बताए ।
प्रतिक्रिया